Sunday, February 28, 2010

छन्त्यालको उत्पत्ति, एक कथन : तीर्थ छन्त्याल, हाल मलेसिया

छन्त्यालहरुको उत्पतिबारेमा मैले जानेको र सुनेको कुरा यस्तो छ । धेरै पहिला मुस्तांगमा एकजना धनी मानिस बस्दथे रे । उनको दुइ भाइ छोराहरु थिए रे । दुइ भाइ मध्ये भाइ चाही अति नै चलाख थिए रे । उनी बा आमाको पनि अति प्यारो थिए रे । तर दाइ चाही सहयोगी भावनाको थिए रे । उनले भएसम्म र सकेसम्म अरुलाई सहयोग गर्ने भन्थे रे । एकदिन धनी मानिसले छोराहरुको अंशबंडा लगाइदिएछन । तर जेठालाई दियो भने उसले सबै सम्पति बाँडेर सक्छ, यस्लाई सम्पती दिनु हुन्न । बूढाबूढीले सोचेछन - दुइ भाइलाई वनमा धनुशिर काट्न पठाउनुपर्छ, जसले धेरै लिन्छ उसलाई नै सम्पत्ति दिने हो भनेर ।

दुई बूढाबूढीको सल्लाह अनुसार दुइभाइलाई वनमा धनुशिर काट्नको लागि पठाइएछ । वनमा जाने बाटोमा एकजना बिरामी भेटेछन २ भाइले । चलाख भाइ कसैको पनि सहयोग नगर्ने बानी भएको मान्छे त्यो बिरामीलाई नाघ्दै वनमा गएर बेलुका पूरा थोक्रोभरि धनुशिर बोकेर आएछन । तर दाइ भने दिनभरि त्यो बिरामीको हेरविचार गरेर बेलुकी रित्तै फर्केछन । बेलुका बाआमाले शिर लिएर आउने कान्छालाई भएको सबै सम्पति र जेठालाई एउटा बोत्तलको तेल दिएछन । दुइभाइ मध्ये भाइ सम्पत्ति बोकेर सहरतिर लागेछन । सहर जादा सम्पतिले थाक्यो भन्दाभन्दै थकाली भएको रे ! दाइ भने तेलको बोत्तल बोकेर वनतिर लागेछन । वन वनमा सिकार खेल्दै बोत्तललाई हेर्दै छन् तेल भन्दै गर्दागर्दै उनी म्याग्दीको झिङखानी ( अहिलेको कुइने-मंगले गा.बि.स.) मा पुगेछन । उनले जतिखेर पनि बोत्तलमा हेरर छन् तेल भन्दै गर्दागर्दै पछि उनको जाति नै छन्त्याल भएको हो रे ।

उनले त्यत्ति बेलासम्म शिकार खेल्दै आएको र त्यहाँ पुगेपछि मृगको खुट्टाले टेकेको ठाउँमा हरियो धर्का देखेछन । उनले सोचेछन यो धर्का पक्कै पनि तामाको हो । शिकार छाडी त्यही खानी खन्नतिर लागेछन । अरुले तिम्रो जात के हो भनी सोध्दा उनले छन् तेल भनेपछि त्यही शब्दबाट छन्त्याल भन्ने भएको हो रे भन्ने भनाइ छ । त्यसैले अहिले पनि छन्त्यालहरुको मुख्यवस्ती भएको झिङखानीलाई शिर र बोंगाखानीलाई पुछार भन्ने चलन छ । कतिसम्मको सांचो हो ? सम्पूर्ण छन्त्याल साथीहरुलाई यसबारे बुझिदिनुहुनका लागि अनुरोध गर्दछु । किनकि मैले पनि बूढापाकाहरुबाट सुनेका कुराहरु हुन । तपाइलाई यो कुरा कस्तो लाग्छ कुन्नि ?

(उल्लेखित तथ्य लेखकका निजी विचार हुन ।)

4 comments: