Sunday, February 28, 2010

नेपाल छन्त्याल संघको आर्थिक प्रतिवेदन तस्वीरमा ।





पूर्ण स्वरुपमा हेर्नको लागि तस्वीरमा क्लिक गर्नुहोला । धन्यवाद

सरकारी सेवा सुविधाबारे नागरिक अनभिज्ञ : संगीता श्रेष्ठ

८५ बर्षिया दलबीरा छन्त्याल भकिम्ली गाविस, म्याग्दीमा बस्नुहुन्छ । उहाँले हरेक दिन गह्रुंगो घांसको भारी बोक्नुपर्छ । म दुखित भएकी थिएँ जब मैले उहाँलाई उहाँभन्दा गह्रुंगो भारी बोकेको देखे । मैले कल्पनासम्म गर्न सकेकी थिइन कि उहाँले त्यत्रो गह्रुंगो भारी बोक्नुहुन्छ होला भनेर । उहाँ छोरीसंग बसिरहनुभएको छ । जब उहाँ भिरालो बाटो हुँदै माथि वनमा जानुहुन्छ उहाँले आफैलाई संतुलनमा राख्न गाह्रो हुन्छ । त्यसैले मैले हात दिँदै सहयोग लिन प्रस्ताव गरे तर उहाँले अस्वीकार गर्नुभयो । उहाँले भन्नुभयो - "आज तपाइले सहयोग गर्नुहुन्छ तर भोलिदेखि कसले सहयोग गर्छ मलाई ?" मैले कुरा गर्दा थाहा पाएं उहाँको श्रीमान २० वर्ष पहिले बित्नु भएको रहेछ र एक मात्र छोरी त्यही गाउंमा बिहे गर्नुभएको रहेछ ।

जब मैले उहाँलाई गाविसबाट ज्येष्ठ नागरिक भत्ता लिनुहुन्छ होला नि भनेर सोधे, उहाँ अचम्म पर्नुभयो र सोध्नुभयो - "के रे ? सरकारबाट हामीले भत्ता पाउछौ ?" शुरुमा त उहाँले विश्वास नै गर्नु भएन किनकि उहाँले गाउंका कसैले भत्ता पाउछन भन्ने कुरा सुन्नुभएको थिएन । जब मैले यसबारे बताएँ, उहाँसंग नागरिकता भएको कुरा पनि थाहा भयो । उहाँले मलाई विस्तृत रुपमा सोध्नुभयो "पैसा पाउनका लागि मैले के के प्रक्रिया पूरा गर्नुपर्दछ ?" उहाँले भन्नुभयो - यदि उहाँले भत्ता पाएमा यो कठिन अवस्थामा सुधार हुने थियो । उहाँको ज्वाइले राम्रो व्यवहार गर्नुहुने थियो । हुनसक्छ, उहाँले भविष्यमा यस्तो गह्रौ भारी बोक्नुपर्दैन । मलाई दुःख लाग्यो यस्तो बुढेसकालमा उहाँले यत्ति धेरै काम गर्नुपर्छ र यस्तो गह्रौ भारी बोक्नुपरिरहेको छ ।

यो एउटा दलबीराको कथा होइन । दलबीराजस्ता हजारौ मानिसहरुको स्रोतमा पहुँच छैन र उनीहरु सरकारी नियम कानूनबारे जान्दैनन । मलाई निराशा पैदा भयो कि यी सरकारी कर्मचारीहरु देशका लागि के गरिरहेका छन । जिल्लाको आधिकारिक तथ्यांक अनुसार, सबै ज्येष्ठ सदस्यहरुलाई भत्ता दिइएको छ । लाजमर्दो कुरा उनीहरु पारदर्शी रुपमा ती ज्येष्ठ नागरिकहरुका ल्याप्चे देखाउछन । तिनीहरुलाई वास्ता छैन पैसा उपयुक्त मान्छेलाई गयो कि गएन । तिनीहरू मात्रै बिनियोजित बजेट खर्च भयो कि भएन भन्ने कुरामा केन्द्रित छन । यस्तो भ्रष्टाचारका लागि को जिम्मेवार छन ? के यस्ता पीडकहरुलाई कारबाही गरिन्छन ? यस्ता कार्यकलापहरुको अनुगमन गर्न को जिम्मेवार छ ? दलबीराले किन भत्ता नपाउनु भएको हो ? किन उहाँलाई जानकारी नदिइएको हो ? गाविसको जिम्मेवारी के हो ? किन गाविसका कर्मचारीले दलबीराहरुका भत्ता उपलब्ध नगराएका हुन ? किन ज्येष्ठ नागरिकका आवाजहरू नसुनिएका हुन ? के दलबीराको हेरचाह गर्नु गाविसको जिम्मेवारी होइन ? किन अनुगमन नगरिएको होला ? यदि हामीले म्याग्दी जिल्लाको तथ्यांक हेरयौ भने कति पैसा मन्त्रालयबाट प्राप्त हुँदो हो र गाविसगत रुपमा ज्येष्ठ नागरिकका लागि कति विनियोजन हुँदो हो ?

के हामीले सवालहरुमा छलफल गर्न र सरकारी नियम कानूनबारे सचेतनाका लागि समूह बनाउन जरुरी छ ? समुदायका सदस्यहरु समूह बनाउन जुत्नुपर्नेछ, जहाँ समस्या र सवालहरूबारे छलफल गर्न सकिने छन । परम्परा अनुसार, नेपाल एउटा बुढापाकाहरुको सम्मान गर्ने राष्ट्र हो । जे भए पनि दलबीराजस्ता मानिसहरुलाई भेट्दा मलाई शंका लाग्छ । मानिसहरु कसरी मानसिक रुपमा परिवर्तन होलान ? मानिसहरुलाई कसरी उनीहरुको कामप्रति उत्तरदायी बनाउन सकिएला ? मानिसहरुलाई कसरी ठीक काम गर्ने बनाउन सकिएला ?

(लेखिका डिआरएसपीमा कार्यरत हुनुहुन्छ)

गजल : सुरेश छन्त्याल, हाल डेनमार्क

नेपाल छँदा विदेश एउटा सपनाको फूल भयो,
आज विदेश हेर्दा हेर्दै जाना जानको भूल भयो ।

हरेक रात सपनीमा काखमै बसी खेल्छ भतिज,
आमाको त्यो निर्मल माया कल्पनाको मूल भयो ।

युवा पिढी सक्षम व्यक्ति प्रदेशमा गुलामी छन्,
देशै भरि हत्यारा र लुटेराको हूल भयो ।

बेहाल छ देशको गति थलामा छिन नेपाल आमा,
कुर्सीको खेल ती नेतालाई स्वर्ग जाने पुल भयो ।

पढ्छु भनी विदेश आएँ आखिर कथा कर्णाली कै,
रंगिन सपना कलेजीमै रोपिएको शूल भयो ।

महँगो छ जीवन शैली काम छैन कलेजलाई फी,
बालाई घडी आमालाई सुन फगतै कबुल भयो ।

छन्त्यालको उत्पत्ति, एक कथन : तीर्थ छन्त्याल, हाल मलेसिया

छन्त्यालहरुको उत्पतिबारेमा मैले जानेको र सुनेको कुरा यस्तो छ । धेरै पहिला मुस्तांगमा एकजना धनी मानिस बस्दथे रे । उनको दुइ भाइ छोराहरु थिए रे । दुइ भाइ मध्ये भाइ चाही अति नै चलाख थिए रे । उनी बा आमाको पनि अति प्यारो थिए रे । तर दाइ चाही सहयोगी भावनाको थिए रे । उनले भएसम्म र सकेसम्म अरुलाई सहयोग गर्ने भन्थे रे । एकदिन धनी मानिसले छोराहरुको अंशबंडा लगाइदिएछन । तर जेठालाई दियो भने उसले सबै सम्पति बाँडेर सक्छ, यस्लाई सम्पती दिनु हुन्न । बूढाबूढीले सोचेछन - दुइ भाइलाई वनमा धनुशिर काट्न पठाउनुपर्छ, जसले धेरै लिन्छ उसलाई नै सम्पत्ति दिने हो भनेर ।

दुई बूढाबूढीको सल्लाह अनुसार दुइभाइलाई वनमा धनुशिर काट्नको लागि पठाइएछ । वनमा जाने बाटोमा एकजना बिरामी भेटेछन २ भाइले । चलाख भाइ कसैको पनि सहयोग नगर्ने बानी भएको मान्छे त्यो बिरामीलाई नाघ्दै वनमा गएर बेलुका पूरा थोक्रोभरि धनुशिर बोकेर आएछन । तर दाइ भने दिनभरि त्यो बिरामीको हेरविचार गरेर बेलुकी रित्तै फर्केछन । बेलुका बाआमाले शिर लिएर आउने कान्छालाई भएको सबै सम्पति र जेठालाई एउटा बोत्तलको तेल दिएछन । दुइभाइ मध्ये भाइ सम्पत्ति बोकेर सहरतिर लागेछन । सहर जादा सम्पतिले थाक्यो भन्दाभन्दै थकाली भएको रे ! दाइ भने तेलको बोत्तल बोकेर वनतिर लागेछन । वन वनमा सिकार खेल्दै बोत्तललाई हेर्दै छन् तेल भन्दै गर्दागर्दै उनी म्याग्दीको झिङखानी ( अहिलेको कुइने-मंगले गा.बि.स.) मा पुगेछन । उनले जतिखेर पनि बोत्तलमा हेरर छन् तेल भन्दै गर्दागर्दै पछि उनको जाति नै छन्त्याल भएको हो रे ।

उनले त्यत्ति बेलासम्म शिकार खेल्दै आएको र त्यहाँ पुगेपछि मृगको खुट्टाले टेकेको ठाउँमा हरियो धर्का देखेछन । उनले सोचेछन यो धर्का पक्कै पनि तामाको हो । शिकार छाडी त्यही खानी खन्नतिर लागेछन । अरुले तिम्रो जात के हो भनी सोध्दा उनले छन् तेल भनेपछि त्यही शब्दबाट छन्त्याल भन्ने भएको हो रे भन्ने भनाइ छ । त्यसैले अहिले पनि छन्त्यालहरुको मुख्यवस्ती भएको झिङखानीलाई शिर र बोंगाखानीलाई पुछार भन्ने चलन छ । कतिसम्मको सांचो हो ? सम्पूर्ण छन्त्याल साथीहरुलाई यसबारे बुझिदिनुहुनका लागि अनुरोध गर्दछु । किनकि मैले पनि बूढापाकाहरुबाट सुनेका कुराहरु हुन । तपाइलाई यो कुरा कस्तो लाग्छ कुन्नि ?

(उल्लेखित तथ्य लेखकका निजी विचार हुन ।)

Saturday, February 27, 2010

संवाद एकजना नयाँ मित्रसंग : "छन्त्याल भनेपछि सहयोग भैहाल्छ नि !"

"हेल्लो नमस्ते।"

'नमस्कार मेरो पनि । हजुर कहाँ देखि होला ? आरामै हुनुहुन्छ ?'

'आरामै हजुर । म अहिले खाडी मुलुकबाट।'

"अनि हजुर कहाँ देखि होला ?' "हजुर, म अहिले युरोपदेखि।"

"अनि तपाईं कुन छन्त्याल पर्नुभयो ? नेपालको घर कहाँ होला ?"

'मेरो घर म्याग्दीको मंगलेखानी हो र घरब्जा छन्त्याल। तपाईंको बारेमा भन्नुस् न है ?'

"हजुर हजुर, मेरो घर बाग्लुङको बोंगाखानी र भलन्जा छन्त्याल।"

'अहो नि ! त्यसो हो भने त सोल्टी साईनो लगाउ है ?'

"हुन्छ नि । झन कसिलो साईनो पो हुन्छ त सोल्टी साईनो। अनि तपाईं म्याग्दीको पर्नुभएछ, छन्त्याल भाषा पक्कै पनि आउछ होला नि है ?"

'हजुर बोल्छु तर आजभोलि धेरै प्रयोग गरिदैन।'

"हामीलाई पनि छन्त्याल भाषा सिकाउनुस् न। तपाईंले ईन्टरनेटको राम्रो सदुपयोग गर्न सक्नुहुन्छ हामी खाम नबोल्नेहरुलाई छन्त्याल खाम सिकाएर। तपाईंले गर्नु भएको कामको कुनै पनि दिन प्रशंसा हुनेछ।"

'अहो नि, त्यो त असाध्यै राम्रो हुने थियो। लौ न कसरी सिकाउने र सिक्ने व्यवस्था मिलाउने होला ?'

"हामीले छन्त्याल जातिको परिचय, उत्थान, खोजी, एकता र विकासका लागि छलफल गर्न "छन्त्याल छलफल मन्च" को सुरुवात गरेका छौ नि । त्यसैमार्फत तपाईं हामीले जानेका कुराहरु बाड्न सक्छौ।"

'हुन्छ नि तर समयले साथ पो दिन्छ कि दिदैन ?'

"समयले साथ दिन्छ नि सोल्टी तपाईंले चाहनुभयो भने।"

'अहो सोल्टी छन्त्याल भाषा तपाईंहरुलाई पनि सिकाउन पाए औधी खुशी हुने थिएं ।'

"लौ सोल्टी, छन्त्याल भाषा सिकाउन सुरु गर्नुस् न है। तपाईंलाई सञ्चै छ सोल्टी ? भन्नुपर्दा कसरी भन्ने नि ?" .'सञ्चै मु सोल्टी ?'.......................................


सम्वाद, दूरीले धेरै टाढा भए पनि परिचयले नजिक बनाएका दुई मित्रहरु बीचको हो। "छन्त्याल छलफल मन्च" निकट भविश्यमा नै यस्तै सम्वादहरुलाई छन्त्याल भाषा मार्फत तपाईंहरु माझ प्रस्तुत गर्ने सोच बनाएको छ। भाषा बोल्नु हुने मित्रहरुको सहयोग र सहभागीताको आशा गर्दछौ हामी। तपाईंहरुले जानेका कुराहरु एक आपसमा बाँड्दा गरिब पक्कै हुनुहुनेछैन। भनिन्छ ज्ञानका कुरा जति धेरै बाँड्न सक्यो त्यति नै धनी भइन्छ। तपाईंहरुका थुप्रै प्रतिभा र सिर्जनाहरु होलान त्यसलाई छलफलमा ल्याउने कोशिश गर्नुहोला । तपाईंहरुमा भएका क्षमता र प्रतिभालाई "छन्त्याल छलफल मन्च" सधैं कदर गर्नेछ । हामीलाई ऋणी बनाउनु होला ताकि हामी सँधै तपाईंको कदर गर्न सकौं।