Sunday, April 18, 2010

एकजना छन्त्याल युवाको रेडियो प्रस्तुति : "हाम्रो चाहना" बारे जानकारी

"हाम्रो चाहना" देश र प्रवासमा रहेका सबै नेपालीहरुको भावी सपना समेटिने सचेतनामूलक र सांगीतिक कार्यक्रम हो l यो कार्यक्रम डुसेल्डोर्फ, जर्मनीबाट योगेन्द्रमिलन छन्त्यालले सञ्चालन गर्नुहुन्छ l यस कार्यक्रममा सामाजिक, साँस्कृतिक, आर्थिक र राजनीतिक समस्याका कारण उत्पन्न बेरोजगार, अभाव, अन्याय, अत्याचार, अस्थिरता र असमानताको चर्चा गरिन्छ l

प्राकृतिक स्रोत र परिवर्तनका लागि उठाइएका आवाजहरुलाई पनि कार्यक्रममा समेटिन्छ l निचोडमा पछाडि पारिएका वर्गका चाहनाहरु बोल्ने गरिन्छ l जो कसैको उपयुक्त लेख-रचना, विचार र सन्देश समेटिन्छ यसमा l भेटवार्ता, फोनवार्ता र छलफल पनि चलाइन्छ l

लोकतन्त्र र जनजीविकाका सवालमाथि छलफल चलाउंदै कार्यक्रमले राष्ट्रियता, अग्राधिकार, दीगो शान्ति र चरणवद्ध विकासका लागि सचेत र सामेल हुन निरन्तर अनुरोध गर्दछ l

नेपालको सेरोफेरोमा रहेर तयार गरिने यो साप्ताहिक कार्यक्रम "हाम्रो चाहना" हाल अनलाइन रेडियो टाइटन टोरोन्टो, क्यानाडाबाट हरेक बिहीबार साँझ ७.३० देखि ८.३० बजेसम्म र सयपत्री एफ एम ९१.६ मेगाहर्ज बागलुङ, नेपालबाट हरेक शनिबार बेलुकी ६.३० देखि ७.३० बजेसम्म प्रशारण हुन्छ l

तल क्लिक गरेर "हाम्रो चाहना" सुन्न सक्नुहुनेछ :-

आठौ अंक सुन्न यहाँ ---> यहाँ क्लिक गर्नुहोस l
सातौ अंक सुन्न यहाँ ---> यहाँ क्लिक गर्नुहोस l
छैठौ अंक सुन्न यहाँ ---> यहाँ क्लिक गर्नुहोस l
पाँचौ अंक सुन्न यहाँ ---> यहाँ क्लिक गर्नुहोस l
चौथो अंक सुन्न यहाँ ---> यहाँ क्लिक गर्नुहोस l
तेस्रो अंक सुन्न यहाँ ---> यहाँ क्लिक गर्नुहोस l
दोस्रो अंक सुन्न यहाँ ---> यहाँ क्लिक गर्नुहोस l
पहिलो अंक सुन्न यहाँ ---> यहाँ क्लिक गर्नुहोस l

--> कार्यक्रम सुन्नुभएपछि सल्लाहसुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला ! प्रतिक्रिया लेख्दा आफ्नो नेपाल र प्रवासको ठेगाना लेख्नुभयो भने कार्यक्रममा समावेश गरिनेछ l
--> यहाँको वेबसाइटमा कार्यक्रमको लिंक राख्न चाहनुहुन्छ भने कृपया एकचोटी ymcbgl@yahoo.com मा छलफलपछि मात्र राख्न सक्नुहुनेछ l

थप जानकारीका लागि --> यहाँ क्लिक् गर्नुहोस् ।

Sunday, April 11, 2010

हाम्रो बधाइ र शुभकामना !!!

५६ जातिय संगठनहरुको छाता संस्था नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) को चैत्र २३ गते सम्पन्न महाधिवेशनबाट निर्वाचित अध्यक्ष राजकुमार लेखीलगायत सम्पूर्ण नवनिर्वाचित पदाधिकारी र चैत्र २८ गते सम्पन्न नेपाल आदिवासी जनजाति पत्रकार संघ (ANIJ) को चौथो महाधिवेशनबाट मोहनसिंह लामाको नेतृत्वमा निर्वाचित नयाँ समितिका पदाधिकारीहरुमा छन्त्याल छलफल मन्च (CDF) हार्दिक बधाइ ज्ञापन गर्दछ l

नयाँ संविधान निर्माणको ऐतिहासिक क्षण र राजनीतिक दल तथा अन्य जातिहरुबाट जनजातिका सवालहरुमा प्रश्न उठाइएको चुनौतीपूर्ण समयमा संघीय परिषद र केन्द्रीय कार्यसमिति जनजातिले उठाएका जातिय, क्षेत्रीय, भाषिक र ऐतिहासिक आधारमा संघीय राज्यको स्थापना गर्ने माग पूरा गर्न र जनजातिहरुको उत्थान, पहिचान र विकासका लागि महत्वपूर्ण कार्यक्रमहरु सम्पन्न गर्न सफल रहुन, हाम्रो शुभकामना !!!

Sunday, March 14, 2010

छन्त्याल जातिको लोपोन्मुख संस्कृति : योगेन्द्रमिलन छन्त्याल, हाल जर्मनी

"नेपाल अधिराज्यभर २१ जिल्लाहरुमा बसोवास गर्दै आएका करिब १३ हजार छन्त्यालहरु पूर्वाधार तथा संभावनाहरुको कमिका कारण राज्यबाट उपेक्षित बन्नुपर्दा त्यत्ति दुखी छैनन् जति दुखी आफ्नो जातिको उत्पत्ति र ईतिहासबारे कुनै प्रमाणिक आधारहरु प्राप्त नभएकोले किंवदन्तीमा मात्र चित्त बुझाउनुपर्दा छन् ।"

"प्रसिद्ध समाजशास्त्री मोहन मल्लका अनुसार तत्कालीन बाइसी चौबिसी राज्यताका कर्णालीको सिन्जाका एक पाल्चन ठकुरीका सन्तानहरु मध्य आपसी झै-झगडाका कारण एकजना मुस्ताङको थाकखोला आई बसोवास गरेकाले थकाली र अर्का बाग्लुङ जिल्लाको ढोरपाटन उपत्यकाको 'छ्यान्टुङ' भन्ने ठाउंमा बसोवास गरेकाले छन्त्याल कहलिएको भन्ने मान्यता बढी विश्वासनीय छ । हामी अझै वास्तविक ईतिहासको खोजीमा लागिरहेका छौ ।" नेपाल छन्त्याल संघका अध्यक्ष मनिचन्द घरब्जा छन्त्याल भन्नुहुन्छ ।

सामान्यत, मगर जातिसंग मिल्ने बनावट, बोली, भाषा, रहनसहन र खानपीन भएका छन्त्यालहरुलाई धेरैले मगर माने पनि उनीहरुको छुट्टै भाषा "खाम" बोल्ने गर्दछन । 'मगरहरु सुँगुरको मासु खान्छन तर छन्त्याल सुँगुरलाई छोयो भने गंगाजलले नुहाउनु पर्दछ । मगर रांगो खान्छ तर छन्त्यालहरु खाँदैनन । मगर र छन्त्यालको खास भिन्नता देखिने उनीहरुको संस्कार नै हुन् । मगरहरु मामाको छोरीसंग विवाह गर्छन् तर छन्त्याल मामा चेली-फुपुचेली दुवैसँग दोहोरो विवाह गर्ने चलन छ । यिनै संस्कारका कारण छन्त्याल मगरभन्दा छुट्टै जाति भएको प्रष्ट हुन्छ ' बाग्लुङ बोंगादोभानका भू. पू. उपाध्यक्ष रेशमबहादुर छन्त्याल बताउंनुहुन्छ ।


'करिब ५ सय वर्षअघि खानी पेशामा लागेका छन्त्यालहरु कालान्तरमा संख्या वृद्धि हुँदै जांदा थुप्रै समूहमा बांडिएर जीवन गुजारा चलाऊन खानी खोज्ने क्रममा बाग्लुङको बोंगाखानी, ढोरखानी, भीरखानी, खुंङ्खानी, लाम्मेलाखानी, घोसाखानी, शिसाखानी, राङ्खानी, लेखानी, हाँडिखानी, पाण्डवखानी म्याग्दीको गुर्जाखानी, छापाखानी, कुइनेखानी, मंगलेखानी, मल्कबाङखानी सुर्खेतको साताखानी रुकुमको बिर्बुङखानी आदी ठाउंमा पुगेको अनुमान गरिन्छ । यी मध्ये केही खानीहरुमा काम गरिरहेकै बेला करिब सय वर्ष पहिले सरकारले चर्को भेजा (सरकारी कर) लगाएछ तैपनि २ - ४ वर्ष जेनतेन भेजा तिर्ने कोशीस गर्दागर्दै हातमुख जोड्नै नसक्ने अवस्था आएपछि भेजा तिर्न वेवास्ता गरेछन् । भेजा तिर्न नसक्दा सरकारी मान्छेहरु खानी खानीमा पुगेर छन्त्यालहरुलाई थेर्का (कडा सजाँय दिन बनाइएको काठ र फलामको साधन) मा कोचेर सजाँय दिएछन । अनि त वाध्य भएर ८०-९० वर्ष यता छन्त्यालहरु कृषि पेशा गर्दै आएका छन् ।' ललितपुर निवासी छन्त्याल संघका भू.पू. कोषाध्यक्ष ज्यान देवी घरब्जा छन्त्याल बताउंनुहुन्छ ।

आफ्नै गाउं वस्तीमा उत्पादन हुने हार्डुला ( भेडाको ऊनबाट हातैले बुनेको एक प्रकारको ज्याकेट), दोचा, भाङ्ग्रा, मजेत्रो, लगायत गुन्यूचोली, टेखी, खाडो, धोरो (साफा, फेटा) मा सजिएर रमाउने छन्त्याल पुर्खाको भेषभूषा र जीवनशैलीलाई आधुनिकताको खोल ओढेको पाश्चात्य संस्कृतिले पूरै मात्रामा विस्थापन गर्न लागेको अवस्थामा छ । दशै, तिहार, माघे संक्रान्ति, फागु पूर्णिमा, नयाँ वर्ष, साउने संक्रान्तिजस्ता चाडपर्वमा पुराना स्वादहरु गुम्दैछन ।


मादल, मुर्चुङगा, डम्फु, घण्ट, झ्यालीका धुनसँगै घन्किने खेली, ठाडो, चुट्के र लालै भाकाहरुकाबारे ओछयानमा थला परेका बुढापाकाहरुसँग मात्र बुझ्न सकिन्छ त्यो पनि संस्मरण स्वरुप । लाग्छ, अब खेली र चुट्के भाकाका ती हलुका ज्यान बनाएर फुरुंग हुँदै नाचेको देख्ने जमाना फर्कदैनन होला । पहिलो सन्तानको रुपमा छोरा जन्मिदा पुट्पुराउका सरस्वती र खेली नाच पनि ओझेल पर्दैछन । भात खुवाइ (पास्नी), छेवर (चुडाकर्म), गुन्यूचोली र वैवाहिक संस्कारले पनि रुढीवादी संज्ञा पाउंदैछन् । अन्त्येष्टी संस्कारमा पनि छन्त्यालहरुको वस्तीपिच्छे समानता पाइदैन । लगभग ३ हजारले बोल्ने छन्त्याल भाषा (खाम) को अस्तित्व बोकेका ठाउंहरु मानिने म्याग्दीका गुर्जाखानी, कुइने, मंगले, मल्कबाङ र गुल्मीको भार्सेबाट बिस्तारै लोप हुँदै गएको छ । वि. सं. २०४० साल पहिले भारतीय र ब्रिटिश सेनामा भर्ती हुन मगरहरुको पुन, थापा, बुढा, राणा आदि थर लेखाउनुपर्ने बाध्यतामा परेका नयाँ युगका केही छन्त्यालहरु आफ्नो जातीय पहिचान लुकाएको पाईन्छ । जातीय संस्कृतिमा विचलन आएर थकाली र मगरसँग सोलीडोली चलाउंने र आफ्नो रीतिरीवाज र धर्म संस्कृतिमा फेरबदल गरेका पनि छन् केही छन्त्यालहरु । त्यसो त छन्त्यालहरुमा आफ्नो भाषा, संस्कृति र जातीय उत्थानका लागि चिन्ता नभएको होइन । वि. सं. २०४३ सालमा दिलबहादुर घरब्जा छन्त्यालको नेतृत्वमा जातीय भलाई र उत्थान गर्न भनी 'नेपाल छन्त्याल परिवार संघ' को स्थापना भएको थियो । यसले २०४९ असार २९ गते विधिवत संस्थाको मान्यता पाएको थियो । वि. सं. २०५२ मा प्रथम राष्ट्रिय महाधिवेशनको नेतृत्व परिवर्तन सँगसगै यस संघको नाम "नेपाल छन्त्याल संघ" मा परिवर्तन गरियो । यस संघबाट पुस्तिकाहरु प्रकाशन, जातीय संस्कार, स्मारिका २०५४ प्रकाशन र कार्यान्वयनका लागि निर्देशन, जातीय कार्यकलापहरु आदि कार्यहरु संचालन गरेको पाईन्छ।

उमेर खाएका व्यक्तिहरु मात्र होइन छन्त्याल युवायुवतीहरुलाई पनि आफ्नी भेषभूषा, साँस्कृतिक चाडपर्व र संस्कारप्रति उत्तिकै चासो र माया छ । लोकदीप आवासिय मा. वि. बेनी कक्षा १० मा अध्ययनरत छात्रा कुमारी छन्त्याल विद्यालयको पोशाकभन्दा गुन्यूचोली लगाउन मन पराउने बताउंछिन।

दशौ राष्ट्रिय जनगणना २०५८ पहिले तथ्यांकमा नदेखिएका छन्त्यालहरुको त्यस जनगणनामा ९ हजार ८ सय १४ जनसंख्या देखिएको छ । तर संघका सर्वमान्य संस्थापक दिलबहादुर छन्त्याल यो तथ्यांकमा असहमत प्रकट गर्दै भन्नु हुन्छ - "हामीले २०५५ साल पहिले गरेको जनसंख्या विवरणमा ५ हजार ६७ महिला र ५ हजार ४ सय ५४ पुरुष गरी कुल १० हजार ५ से २१ तथ्यांक तयार परेका थियौं । तथ्यांक विभागले त्यो संख्या घटाइदिनु दु:खलाग्दो कुरो हो ।"

हालसम्म छन्त्यालका उल्लेख भएका विभिन्न थरहरु भलंजा, बुढाथोकी, डांडामारे, घरब्जा, घर्ती, घ्याप्चन, झिङराजा, खड्का, पोट्लाङ्गे, पुराने, सिङे, तथप्जा छन् । केही थरका उपथर पनि छन् तर अझै झिङनेल थर लगायतका छन्त्यालहरुले आफ्नो थर केन्द्रिय तथ्यांकमा नसमेटिएको गुनासो गरेको पनि पाईन्छ । छन्त्यालहरुको आफ्नो पूर्वजहरुले खानी निकालेको अति विकट, दुर्गम र हिमाली वस्तीहरुमा बस्दै आएको पाईन्छ र यिनिहरु बसोवास गर्ने ठाउँको नाम पछाडि 'खानी' भन्ने शब्द जोडिएको पाईन्छ ।

अधिकांष निम्न आर्थिक स्तर भएका छन्त्यालहरुको विकट वस्तीहरुमा न त सरकारी सुविधाहरु पुगेका छन् न त सरकारको उपस्थिति नै छ । मुलुकमा साधरण नागरिकको रुपमा समेत परिचित हुन नसकिरहेका छन्त्याल जातिको बारेमा विदेशीहरुले समेत चासो लिएर अध्ययन अनुसन्धान गरेको पाईन्छ । अमेरिकाको युनिभर्सिटी अफ विस्कान्सिस मिल्वाउकीका प्रोफेसेर डा. माइकल नुना र डा. विलियमा वाग्लीमा समेतले विधावारिधीका लागि छन्त्याल भाषा र संस्कृतिको खोज तथा अनुसन्धान गरी पुस्तक प्रकाशन गरेका छन् ।

नेपालकै दुर्लभ र अल्पसंख्यक जातिको रुपमा चिनिने छन्त्याल जातिको सम्बन्धमा संचार माध्यमहरुले पनि खासै चासो र ध्यान नदिएको गुनासो निशा छन्त्यालको छ । उहाँ भन्नुहुन्छ - "दिनानुदिन टेलिभिजन र रेडियोमा विदेशी गीत संगित घन्किरहन्छन, किसिम किसिमका फेशनहरुको प्रचार गरिन्छ तर आफ्नै देशको मौलिक संस्कृति बोकेको छन्त्याललाई उपेक्षा गरिन्छ। यो सार्है दु:खको कुरा हो ।" बाग्लुङ जिल्ला क्षेत्र नं ३ का निवर्तमान सांसद परी थापा छन्त्याल भन्नुहुन्छ- "शिक्षामा पिछ्डिएकोले नै छन्त्यालहरु सबै क्षेत्रमा पछाडि पर्नु परेको हो । सरकार र राज्य संयन्त्रको नेतृत्व 'उच्च र कठित जातिहरु' मा मात्र सीमित छ । राजनीतिक पार्टी र संघसंस्थाहरुमा पनि उच्च जातिका मनिसहरुको नै हालिमुहाली र आधिपत्य रहेको छ । विकट गाउंमा बस्ने छन्त्यालहरुको बारेमा सोच्नुपर्ने आवश्यकता नै ठान्दैनन सरकार र राजनीतिक पार्टीहरु ।"

राज्यका साधन स्रोत र सुविधाहरु देखि कोशौ टाढा र विकट गाउंहरुमा अभावग्रस्त जीवन बिताइरहेका छन्त्यालहरु अस्वभाविक राजनीतिक किचलो देखी वाक्क छन् । उनीहरु भन्छन - "सरकारले हाम्रो लागि केही गर्ला भन्ने हामीलाई आशै छैन । देशमा शान्ति भई दिए कमसेकम आफ्नो संस्कृति जोगाउनका लागि केही प्रयास गर्दै शान्तिपूर्वक बाँच्न त पाइन्थ्यो ।"

(गोरखापत्र संस्थानको लोकप्रिय मासिक पत्रिका 'युवामन्च' २०६१ असोजमा प्रकाशित यो लेख लेखकको अनुमतिमा यहाँ साभार गरेका छौ । यो लेख तत्कालीन हिमालय टाइम्स दैनिक, पोखरापत्र दैनिक, ढोरपाटन दैनिक, म्याग्दी सन्देश साप्ताहिक, जनजाति सन्देश लगायतका पत्रिकाहरुमा समेत प्रकाशन भएको थियो l हाल उहाँले जर्मनीबाट चेतनामूलक रेडियो कार्यक्रम "हाम्रो चाहना" संचालन गरिरहनु भएको छ l साथै उहाँले छन्त्याल छलफल मन्चको सम्पादन समूहमा महत्वपूर्ण भूमिका पनि निर्वाह गरिरहनुभएको छ)

Wednesday, March 3, 2010

नेपाल छन्त्याल संघको प्रगति विवरण तस्वीरमा।






पूर्ण रुपमा हेर्नको लागि तस्वीरमा क्लिक गर्नुहोला। धन्यवाद

Sunday, February 28, 2010

नेपाल छन्त्याल संघको आर्थिक प्रतिवेदन तस्वीरमा ।





पूर्ण स्वरुपमा हेर्नको लागि तस्वीरमा क्लिक गर्नुहोला । धन्यवाद

सरकारी सेवा सुविधाबारे नागरिक अनभिज्ञ : संगीता श्रेष्ठ

८५ बर्षिया दलबीरा छन्त्याल भकिम्ली गाविस, म्याग्दीमा बस्नुहुन्छ । उहाँले हरेक दिन गह्रुंगो घांसको भारी बोक्नुपर्छ । म दुखित भएकी थिएँ जब मैले उहाँलाई उहाँभन्दा गह्रुंगो भारी बोकेको देखे । मैले कल्पनासम्म गर्न सकेकी थिइन कि उहाँले त्यत्रो गह्रुंगो भारी बोक्नुहुन्छ होला भनेर । उहाँ छोरीसंग बसिरहनुभएको छ । जब उहाँ भिरालो बाटो हुँदै माथि वनमा जानुहुन्छ उहाँले आफैलाई संतुलनमा राख्न गाह्रो हुन्छ । त्यसैले मैले हात दिँदै सहयोग लिन प्रस्ताव गरे तर उहाँले अस्वीकार गर्नुभयो । उहाँले भन्नुभयो - "आज तपाइले सहयोग गर्नुहुन्छ तर भोलिदेखि कसले सहयोग गर्छ मलाई ?" मैले कुरा गर्दा थाहा पाएं उहाँको श्रीमान २० वर्ष पहिले बित्नु भएको रहेछ र एक मात्र छोरी त्यही गाउंमा बिहे गर्नुभएको रहेछ ।

जब मैले उहाँलाई गाविसबाट ज्येष्ठ नागरिक भत्ता लिनुहुन्छ होला नि भनेर सोधे, उहाँ अचम्म पर्नुभयो र सोध्नुभयो - "के रे ? सरकारबाट हामीले भत्ता पाउछौ ?" शुरुमा त उहाँले विश्वास नै गर्नु भएन किनकि उहाँले गाउंका कसैले भत्ता पाउछन भन्ने कुरा सुन्नुभएको थिएन । जब मैले यसबारे बताएँ, उहाँसंग नागरिकता भएको कुरा पनि थाहा भयो । उहाँले मलाई विस्तृत रुपमा सोध्नुभयो "पैसा पाउनका लागि मैले के के प्रक्रिया पूरा गर्नुपर्दछ ?" उहाँले भन्नुभयो - यदि उहाँले भत्ता पाएमा यो कठिन अवस्थामा सुधार हुने थियो । उहाँको ज्वाइले राम्रो व्यवहार गर्नुहुने थियो । हुनसक्छ, उहाँले भविष्यमा यस्तो गह्रौ भारी बोक्नुपर्दैन । मलाई दुःख लाग्यो यस्तो बुढेसकालमा उहाँले यत्ति धेरै काम गर्नुपर्छ र यस्तो गह्रौ भारी बोक्नुपरिरहेको छ ।

यो एउटा दलबीराको कथा होइन । दलबीराजस्ता हजारौ मानिसहरुको स्रोतमा पहुँच छैन र उनीहरु सरकारी नियम कानूनबारे जान्दैनन । मलाई निराशा पैदा भयो कि यी सरकारी कर्मचारीहरु देशका लागि के गरिरहेका छन । जिल्लाको आधिकारिक तथ्यांक अनुसार, सबै ज्येष्ठ सदस्यहरुलाई भत्ता दिइएको छ । लाजमर्दो कुरा उनीहरु पारदर्शी रुपमा ती ज्येष्ठ नागरिकहरुका ल्याप्चे देखाउछन । तिनीहरुलाई वास्ता छैन पैसा उपयुक्त मान्छेलाई गयो कि गएन । तिनीहरू मात्रै बिनियोजित बजेट खर्च भयो कि भएन भन्ने कुरामा केन्द्रित छन । यस्तो भ्रष्टाचारका लागि को जिम्मेवार छन ? के यस्ता पीडकहरुलाई कारबाही गरिन्छन ? यस्ता कार्यकलापहरुको अनुगमन गर्न को जिम्मेवार छ ? दलबीराले किन भत्ता नपाउनु भएको हो ? किन उहाँलाई जानकारी नदिइएको हो ? गाविसको जिम्मेवारी के हो ? किन गाविसका कर्मचारीले दलबीराहरुका भत्ता उपलब्ध नगराएका हुन ? किन ज्येष्ठ नागरिकका आवाजहरू नसुनिएका हुन ? के दलबीराको हेरचाह गर्नु गाविसको जिम्मेवारी होइन ? किन अनुगमन नगरिएको होला ? यदि हामीले म्याग्दी जिल्लाको तथ्यांक हेरयौ भने कति पैसा मन्त्रालयबाट प्राप्त हुँदो हो र गाविसगत रुपमा ज्येष्ठ नागरिकका लागि कति विनियोजन हुँदो हो ?

के हामीले सवालहरुमा छलफल गर्न र सरकारी नियम कानूनबारे सचेतनाका लागि समूह बनाउन जरुरी छ ? समुदायका सदस्यहरु समूह बनाउन जुत्नुपर्नेछ, जहाँ समस्या र सवालहरूबारे छलफल गर्न सकिने छन । परम्परा अनुसार, नेपाल एउटा बुढापाकाहरुको सम्मान गर्ने राष्ट्र हो । जे भए पनि दलबीराजस्ता मानिसहरुलाई भेट्दा मलाई शंका लाग्छ । मानिसहरु कसरी मानसिक रुपमा परिवर्तन होलान ? मानिसहरुलाई कसरी उनीहरुको कामप्रति उत्तरदायी बनाउन सकिएला ? मानिसहरुलाई कसरी ठीक काम गर्ने बनाउन सकिएला ?

(लेखिका डिआरएसपीमा कार्यरत हुनुहुन्छ)

गजल : सुरेश छन्त्याल, हाल डेनमार्क

नेपाल छँदा विदेश एउटा सपनाको फूल भयो,
आज विदेश हेर्दा हेर्दै जाना जानको भूल भयो ।

हरेक रात सपनीमा काखमै बसी खेल्छ भतिज,
आमाको त्यो निर्मल माया कल्पनाको मूल भयो ।

युवा पिढी सक्षम व्यक्ति प्रदेशमा गुलामी छन्,
देशै भरि हत्यारा र लुटेराको हूल भयो ।

बेहाल छ देशको गति थलामा छिन नेपाल आमा,
कुर्सीको खेल ती नेतालाई स्वर्ग जाने पुल भयो ।

पढ्छु भनी विदेश आएँ आखिर कथा कर्णाली कै,
रंगिन सपना कलेजीमै रोपिएको शूल भयो ।

महँगो छ जीवन शैली काम छैन कलेजलाई फी,
बालाई घडी आमालाई सुन फगतै कबुल भयो ।